गाईघाट । नेपाली कांग्रेस उदयपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम आइतबार गाईघाटमा सम्पन्न भएको छ। आगामी असोज १५ गतेदेखि सुरु हुने वडा, नगर तथा जिल्ला अधिवेशनको तयारीका लागि गाईघाटको बसघारा पार्टी प्यालेसमा नेता–कार्यकर्ता भेला आयोजना गरिएको आयोजक कमिटीका संयोजक नारायणबहादुर कार्कीले जानकारी दिनु भयो।
कार्कीका अनुसार अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न उदयपुरका नेता बसन्तकुमार बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरिएको र आवस्यकता अनुसार थप्दै लैजाने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले पार्टीमा पुराना नेताहरूको अनुहार देखाएर मात्रै मत नआउने बताउनेहरू अहिले तिनै नेताहरूलाई समितिमा समेटेर अघि बढिरहेको टिप्पणी गरे। उनले कांग्रेस विभाजनको बाटोमा नभई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीका सबै नेता–कार्यकर्तालाई मिलाएर लैजानुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार खत्री, विभिन्न वडाका वडा अध्यक्ष तथा नेता–कार्यकर्तासहित करिब ३५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
आयोजकले ‘नेपाली कांग्रेस उदयपुर कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम’ शीर्षकमा ब्यानर राखेर कार्यक्रम आयोजना गरेको थियो। पछिल्लो समय पार्टीभित्र देखिएको विभाजनको सम्भावनाबीच नेता–कार्यकर्तालाई एक ठाउँमा ल्याएर कांग्रेसलाई एकढिक्का बनाउने उद्देश्यले भेला आयोजना गरिएको कांग्रेस नेता तिलक कटुवालले बताए ।

प्रतिकृया दिनुहोस्