गाईघाट । नेपाली कांग्रेस देउवा समूहअन्तर्गत त्रियुगा नगरपालिकामा बिहीबार सम्पन्न वडा अधिवेशनबाट १५ जना वडा सभापतिसहित ४७० जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
त्रियुगा नगरपालिकाका १६ वडामध्ये वडा नम्बर ४ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेपछि अधिवेशन स्थगित गरिएको छ। उक्त वडाको सभापति शुक्रबार सहमतिबाट टुंग्याउने प्रयास गरिने निर्वाचन समितिले जनाएको छ। सहमति हुन नसके निर्वाचन प्रक्रियामार्फत सभापति चयन गरिने निर्वाचन समितिका प्रमुख अधिवक्ता सुकुराम श्रेष्ठले जानकारी दिए।
सबै वडामा सभापति, प्रतिनिधि तथा वडा कार्यसमिति चयन प्रक्रिया शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा अघि बढेको श्रेष्ठले बताए।यसैबीच, नेपाली कांग्रेस उदयपुरका जिल्ला संयोजक बसन्त कुमार बस्नेतले अधिवेशनबाट पार्टीभित्रको एकता र संगठनलाई थप मजबुत बनाउने सन्देश गएको बताएका छन्। उनले वडा तहदेखि नै सबै नेता–कार्यकर्ताबीच सहकार्य, सहमति र एकताको भावना कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
बस्नेतले भने, “अधिवेशन भनेको नेतृत्व चयन गर्ने मात्रै होइन, पार्टीलाई अझ बलियो र व्यवस्थित बनाउने अवसर पनि हो। सबै साथीहरूलाई समेटेर सहमति र एकताका साथ अघि बढ्नुपर्छ।”उनले अधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी संगठनलाई जनतासँग अझ नजिक बनाउँदै आगामी दिनमा कांग्रेसलाई थप सशक्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्