

आदिवासी जनजाति समुदायले भोट कसलाई हाल्ने ? मंसिर ४ को चुनावपछि कस्तो सरकार बनाउने ? यो छनौटको अधिकार यतिबेला हामी जनताको हातमा छ । त्यसैले मतदान गर्नु अघि यी कुराहरूमा विचार गरौ
आदिवासी जनजातिको पर्वहरू (ल्होछार, उधौली-उभौली, म्ह पूजा, माघी-माघे संक्रान्ती, समा चखेवा) मा एक दिन दिदै आएको सार्वजनिक विदा कटौती गर्ने सरकार कि त्यस्ता पर्वहरूको सम्मान गरि त्यसलाई प्रवर्द्धन गर्ने सरकार बनाउने ?
आदिवासी जनजातिले प्राप्त गरेको सिमित आरक्षणलाई व्यवस्थित बनाउने सरकार कि त्यसलाई कटौती गर्ने सरकार बनाउने ?आदिवासी जनजाति प्रतिष्ठान, बौद्ध विकास समिती जस्ता हाम्रो संघर्षबाट प्राप्त भएको संरचना भत्काउन
खोज्ने सरकार कि त्यस्ता संरचनालाई व्यवस्थित गर्ने सरकार बनाउने ?संघीयतालाई संस्थागत गर्न थुप्रै कानुनहरू बन्न बाकी छ, त्यस्तो कानून बनाएर संघीयतालाई अझ व्यवस्थित पार्ने
सरकार कि प्रदेशको अधिकार समेत खोसेर संघियता कोल्याप्स गर्न खोज्ने सरकार बनाउने ?नेपाली जनताको ७० वर्षभन्दा लामो समयदेखिको चाहनाबाट प्राप्त धर्मनिरपेक्षतालाई संस्थागत गर्ने सरकार कि हिन्दू राष्ट्र पुनर्स्थापित गर्न खोज्ने सरकार बनाउने ?
बहुभाषिक मुलुकको विशेषता अनुसार सवै मातृभाषाहरूको संरक्षण, सम्बर्द्धन गर्ने सरकार कि एउटा भाषा लाद्न खोज्ने सरकार बनाउने ?
२०६२/६३ को जन आन्दोलन, माओवादी जनयुद्ध, मधेश विद्रोह, आदिवासी आन्दोलनको भावना र मर्मलाई बोक्ने सरकार कि ती संघर्षहरूको उपलब्धि सिध्याउन प्रतिगामी शक्तिसंग सांठगाठ गर्ने सरकार बनाउने ?
गाउँ, टोलको विकास भनेको तपसिलका विषय हुन् । जन आन्दोलनबाट प्राप्त उपलब्धि र मुद्दा प्रधान विषय हो । हिजो जन आन्दोलनमा राजाको विरुद्ध संगै लडेका दलहरूको विभाजन र टुटफुटका कारण हाम्रो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेर गएको छ ।
हाम्रो समुदायगत उल्लिखित मुद्धाहरू कार्यान्वयन गर्ने सन्दर्भमा हामिले दिएको मतबाट बन्ने सरकारको चरित्रमाथी निर्भर हुन्छ । चुनावी प्रतिस्पर्धामा रहेको दुई गठबन्धनमध्ये कुन गठवन्धन हाम्रो मुद्दाहरूको पक्षमा उभिएको छ ? यसलाई मिहिन ढंगले हेरौ ।
देशको सिमा र बाह्य राष्ट्रवादको हाउगुजी देखाएर आन्तरिक राष्ट्रियतालाई थिच्ने नवसामन्तवादी चरित्र बोक्ने पार्टी र नेतृत्वलाई चिनौ । देशभित्रको १२५ भन्दा बढी जातजाती र भाषाभाषीलाई मिलाउन सक्यौ भने कुनै विदेशी शक्तिले हामीलाई झुकाउन सक्नेछैन ।
तसर्थ, अहिले मत हाल्ने बेलामा विचार नगर्ने अनि पछि पछुताउने काम नगरौ । तपाईंको एउटा मतले मुलुकका सारा उत्पीडन, विभेद, शोषणलाई कम गर्ने दिशामा निर्णायक भूमिका खेल्नेछ । त्यसकारण अर्काको लहैलहैमा लागेर होइन, ठण्डा दिमागले सोचेर बुद्धिमानीपूर्वक सहि गठवन्धनलाई मतदान गरौ ।
केही स्वतन्त्र उमेदवारहरू पनि चुनावी मेलामा दौडिरहेका छन तर दलिय व्यवस्थामा स्वतन्त्र प्रतिनिधिले भुक्नेभन्दा अरू केही काम गर्न सक्दैन । त्यस्तो उमेदवारलाई मत हाल्नु भनेको क्षणिक आवेगलाई शान्त पार्नु बाहेक केही होइन । धन्यवाद मोहन गोले तामाङ अध्यक्ष, नेपाल तामाङ घेदुङ

प्रतिकृया दिनुहोस्