गाईघाट / उदयपुरको सदरमुकाम गाईघाटमा “अब दौडिन्छ गाईघाट” भन्ने नारासहित गाईघाट रनको शुभारम्भ गरिएको छ। शनिबार बिहान आयोजित दौडमा स्थानीयवासीसँगै जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कुनै औपचारिक आयोजक संस्था नभए पनि स्वतःस्फूर्त रूपमा सुरु गरिएको यस अभियानलाई आगामी दिनमा संस्थागत गर्दै लैजाने तयारी गरिएको छ। त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गाईघाट रनलाई स्थानीय सरकारले साथ दिने जानकारी दिए।
नगर प्रमुख बस्नेतका अनुसार नियमित दौड स्वास्थ्यका लागि लाभदायक भएकाले अब प्रत्येक महिनाको अन्तिम शनिबार गाईघाट रन आयोजना गरिनेछ। साथै, प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते विशेष वृहत् कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
गाईघाट रनमा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाईघाटको मेनचोकबाट सुरु भएको दौड करिब ७ किलोमिटर दूरी पार गर्दै बोक्से, करमगाछी र ढिम्की क्षेत्र हुँदै पुनः मेनचोकमै आएर समापन भएको थियो। सहभागीहरूले यस अभियानले स्वस्थ जीवनशैलीको प्रवर्द्धनसँगै सामुदायिक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।




प्रतिकृया दिनुहोस्