

काठमाडौं । वरिष्ठ हास्यकलाकार मनोज गजुरेल आज पोखराबाट काठमाडौं आउन साढे ८ बजे विमानस्थल पुगे । मौसमको खराबीका कारण जहाज उड्न ढिलाइ भएपनि उनले विमानस्थलमै साढे पाँच घन्टा प्रतीक्षा गर्नुपर्यो ।
उडान समय ८:५० भए पनि विमान १:३० मा मात्रै उडेको थियो । त्यसबीचको झण्डै पाँच घण्टा गजुरेलले नवनिवर्मित
विमानस्थलमा टहलिएर बिताए । आफ्नै देशभित्र यो स्तरको संरचना देख्दा मन गदगद बनेको उनी सुनाउँछन् ।
‘पूरै विदेशी विमानस्थलको जस्तो फिलिङ आयो,’ गजुरेलले नेपाल प्रेससँग भने, ‘यति राम्रो एयरपोर्ट बनेछ, अब यसको संरक्षण र संवर्द्धन पनि राज्यले राम्रोसँग गरोस् ।’
विमानस्थलको अत्याधुनिक संरचनाले आफूलाई विदेश यात्राको अनुभव भएको उनले सुनाए । तर, लामो प्रतीक्षापछिको उडान अनुभव भने सुखद हुन सकेन ।
मौसमको खराबी र ट्राफिक जामका कारण जहाज आकाशमै होल्ड हुँदा मनोजसँगै यात्रुहरू नर्भस बनेका थिए । नहुन् पनि किन, भर्खरै यति एयरलाइन्सको विमान दुर्घटना सबैको मनमा ताजै थियो ।
‘एक घण्टासम्म जहाज होल्ड हुँदा सबैलाई डर त लागिहाल्छ नि,’ उनले ठट्यौलो प्रतिक्रिया दिँदै भने, ‘तर, केहीनहुञ्जेल केही हुँदैन भन्ने मेरो सिद्धान्तै छ । आफ्नो बसमा नभएको कुरामा टेन्सन लिएर मात्रै के हुन्छ र ?’

प्रतिकृया दिनुहोस्