गाईघाट । त्रियुगा नगरपालिका–१० मा “सजग बालबालिका, समृद्ध समाजको आधार” भन्ने मूल नाराका साथ बाल क्लब गठन गरिएको छ। असोज १९ गते वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बाल क्लब गठन गरिएको हो।
बालबालिकाको क्षमता विकास, नेतृत्व विकास, बालअधिकारको संरक्षण तथा सामाजिक गतिविधिमा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले बाल क्लब गठन गरिएको जनाइएको छ। क्लबमार्फत बालबालिकालाई आफ्नो अधिकार र कर्तव्यबारे सचेत गराउँदै सिर्जनात्मक तथा सामाजिक कार्यमा सहभागी गराउने अपेक्षा गरिएको थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका–१० का वडा अध्यक्ष किरण पाण्डेले बालबालिकाको हक, अधिकार र संरक्षणका विषयमा वडा कार्यालय गम्भीर रहेको बताए। उनले वडाबाट बालबालिकाले पाउनुपर्ने सेवा, सुविधा, अवसर तथा अधिकारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष पाण्डेले बालबालिकालाई पढाइसँगै सामाजिक गतिविधि र सिर्जनात्मक कार्यमा समेत सक्रिय हुन आग्रह गर्दै उनीहरूको क्षमता र प्रतिभालाई उजागर गर्न वडा तहबाट आवश्यक सहयोग गर्ने बताए। उनले बालबालिका समाजका वर्तमान मात्र नभई भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरूको सकारात्मक विकासमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
“तपाईंहरूले अहिले राम्रो काम गर्दै अगाडि बढ्नुभयो भने भोलिका पुस्ताले पनि तपाईंहरूबाट केही सिक्न र प्रेरणा लिन सक्नेछन्,” भन्दै अध्यक्ष पाण्डेले बाल क्लबका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवार भएर काम गर्न सुझाव दिए।
उनले बालबालिकाले आफ्नो अधिकारको प्रयोगसँगै कर्तव्य र जिम्मेवारीलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने गतिविधिमा सक्रिय हुन आग्रह गरे। बालबालिकाका सवाललाई प्राथमिकतामा राखेर वडा कार्यालयले आगामी दिनमा समेत आवश्यक सहजीकरण र सहयोग गर्ने उनको भनाइ थियो।
कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयको उपस्थिति रहेको थियो। सहभागीहरूले बाल क्लब गठनसँगै वडाका बालबालिकालाई संगठित गर्दै उनीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।


प्रतिकृया दिनुहोस्