

यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ । सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको
नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा
पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।
गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाले अहिले के गर्दै होलिन् ? भन्ने कौतुहलतालाई मेटाउन हामी उनको वासस्थानमा पुग्दा उनी आफ्नो २५ महिने नानीलाई काखमा च्यापेर मलिन
अनुहारका साथ शर्मिलाले हामीलाई स्वागत गरिन् र आफ्नो विगत वर्तमान र भविष्यको फेहरिस्त सुनाउन राजी भइन् । झण्डै आधा घण्टासम्म उनी भक्कानिँदै सम्हालिँदै आफ्नो व्यथा
सुनाइरहिन हामी सुनिरह्यौँ ।झण्डै २ वर्ष देखी सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक
मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला । शर्मिलाका अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् । स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका
श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।हुन त महानगरसँग उनको जम्काभेट
पहिला पहिला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको हिजो नै पहिलो पटक हो । हिजोको दिनलाई सम्झिँदा पनि शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा गाँठो पर्छ वाक्य फुट्दैन ।

प्रतिकृया दिनुहोस्