

शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर
गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो ।
गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज गर्यो । भीड झन् आक्रोशित हुँदै गेटतिर बढ्यो ।
अगाडिको समस्या पछाडिका मान्छेलाई थाहा थिएन । पछाडिबाट भीडले ठेल्दै ल्याउँदा अगाडि रहेका मान्छे च्यापिएर घाइते भए ।
उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको धनकुटा महोत्सवको आठौँ दिनको दृश्य हो । भीड नियन्त्रण गर्न नसक्दा भएको भागदौडमा बालबालिकासहित ३१ जना घाइते भएका छन् ।
सोह्र जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ । सोह्रमध्ये नौ जनाको हाल पनि उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ ।
धनकुटा–५ का विष्णु राईका छ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेका करिब तीन वर्षीय बच्चालाई विराटनगर लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।
प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको हो । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य भने स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
धनकुटा–७ अस्पताल अगाडिकी रुशा राई परिवारसहित महोत्सव हेर्न गएकी थिइन् । उनको २२ वर्षीया बहिनी अनिशा
राई साथीहरूसँग एक घण्टा अगाडि महोत्सव पुगेका थिए । उक्त समयमा अगाडि रहेकी अनिशालाई अचेत अवस्थामा भीडमा परिवारले भेटे ।
रुशा र उनका बुबा प्रदीप भीड छिचोल्दै भित्तामा छेउ लागेर बालबाल बचेको सुनाउँछिन् । “एक मिनेट हामी ढिला गरेका भए हामी सबैको हालत उस्तै हुने थियो । भित्तामा छेउ लागेर बच्यौँ ।
कसरी यस्तो अवस्था भयो केही थाहा भएन । हामी कसरी बच्यौँ थाहा छैन । भीडबाट बहिनीलाई खोज्दै गर्दा बेहोस अवस्थामा लडेको भेटेर बाहिर निकाल्यौँ”, रुशाले भनिन् ।

प्रतिकृया दिनुहोस्