

काठमाडौं । रुमानी सपना बोकेर भारतीय राज्य आसामको एउटा गाउँबाट काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् ।
थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि उनी एक अपरिचित ।
आसाममा हिट भइसकेकी गायिकाको नेपालमा आएर शून्यबाट करिअर सुरु गर्नुपर्दाको संघर्ष आफैंमा अर्थपूर्ण लाग्छ । करिब १३ वर्षअघि संगीत क्षेत्रमा आफ्नो भन्ने कोही नभएको बिरानो सहर काठमाडौंमा आएर उनले छोटै समयमा आफ्नो कलाको जादू छर्न सफल भइन् ।
‘मेरो यहाँ आफ्नो भन्ने त दिदी भिनाजु मात्रै हुनुहुन्थ्यो । मेरो बुबाले पूर्खाको देशमै गएर तिमीले आफ्नो कला फैलाउनुपर्छ भन्नुभएको कुराले नेपालमै आएर केही गर्ने सोच आएको हो ।
त्यसबेला भिनाजुले मलाई रेकर्डिङ स्टुडियोमा लाने-ल्याउने गरेर धेरै सहयोग गर्नुभयो,’ अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा मिलनले भनिन्,
‘कसो कसो आएको केही समयमै पहिलो एल्बम मिलन निकालें । त्यसको जहिलेदेखि संसारमा गीत निकै रुचाउनुभयो । त्यसपछि खास पछाडि फर्केर हेर्नुपरेनजस्तो लाग्छ ।’

प्रतिकृया दिनुहोस्