

कप्तान रोहित पौडेलको अर्धशतक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दियाे ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनायाे ।
खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन ।
नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए ।
आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।
ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए ।
२२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।

प्रतिकृया दिनुहोस्