

डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै छलफलका लागि बोलाएका छन्।
टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले आफ्ना पार्टीका
नेताहरूलाई कारागारमा बोलाएका हुन्। पार्टीका संस्थापक नेता चौधरीले कारागारमै छलफलका लागि बोलाएको नागरिक उन्मुक्तिका महासचिव रतन थापाले जानकारी दिए।
‘सर्वोच्चको आदेशपछि फरक परिस्थिति उत्पन्न भएको छ। उहाँसँग छलफल गरेर धारणा बनाउनुपर्ने भयो। यही विषयमा आज एक बजे पत्रकार सम्मेलन पनि छ,’
उनले अहिले ११ बजे आफूहरू कारागार पुग्ने जानकारी दिए। यता कारागार प्रशासनले भने नाउपाका नेताहरू आउन लागेको जानकारी नपाएको बताएको छ।
‘उहाँलाई अहिलेसम्म कसैले भेट्न आउनुभएको छैन। आउने कुनै जानकारी पनि पाएका छैनौं,’ डिल्लीबजार कारागारका जेलर रुमबहादुर महतले भने।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो । सेतोपाटी

प्रतिकृया दिनुहोस्