
उदयपुर । उदयपुरमा नेपाली सेना र रेन्जरसहितको टोलीले स्थानीयमाथि अन्धाधुन्द कुटपिट गरेको छ । जिल्लाको बेलका वडा नम्बर २ स्थित रामनगर र नारायणपुर टोलमा प्रवेश गरी आफ्नै घरमा सुतिरहेका नागरिकमाथि कुटपिट भएको हो ।
स्थानीयका अनुसार कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रका रेन्जर र त्यहाँ सुरक्षार्थ खटिएका नेपाली सेनाको संयुक्त गस्ती टोलीले बस्तीमा आएर गाउँलेहरुमाथि त्रास फैलाएको थियो । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले स्थानीयलाई उधृत गर्दै जानकारी दिए अनुसार घटना भदौ २१ गतेको हो ।
राती आफ्नै घरभित्र सुतिरहेको अवस्थामा स्थानीय केही युवाहरुमाथि कुटपिट भएको बताइएको छ । घटनापछि स्थानीय कारी मेहता, खलीफा नाम गरेका दुई युवक अझै सम्पर्कमा आएका छैनन् ।
कुटपिटबाट घाइते सन्तोष पालको अवस्था निकै गम्भीर रहेका छ । उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ । घटनाबारे स्थानीयले जानकारी दिएलगतै नगर प्रमुख कार्कीले स्थलगत निरीक्षण गरी सत्यतथ्य बुझ्ने प्रयास गरेका छन् ।
मेयर कार्कीले आरक्षण प्रमुखलाई फोनमार्फत सम्पर्क गरी घटनाबारे ध्यानाकर्षण गराएका छन् । स्रोतका अनुसार सैनिक तथा रेन्जरको कुटाईबाट घाइते युवकको स्वास्थ्य उपचार र सम्पर्कबिहीन रहेका दुई जनाको खोजी कार्यमा सहयोग गर्न समेत मेयर कार्कीले आरक्षण प्रमुखलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस्