
पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले पर्सि पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ । सोमबार विहान ठमेलमा बसेको
शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो ।एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै
धर्ना दिनुपर्ने मत राखेका थिए । तर बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरिएको हो । यो समूहले ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति
धर्ना’ भन्ने नारा दिएको छ । दबाव अभियानकै निरन्तरता स्वरुप १३ गते चियापान कार्यक्रम गर्ने र त्यतिन्जेल पनि समानुपातिकको बन्दसूची नसच्याए १४ गते बैठक बसेर कठोर निर्णय लिने नेता जगदिश्वर नरसिंह केसी
बताउँछन् ।कांग्रेसले ३ असोजमा निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा यो समूहका १३ जना मात्र छन् । उनीहरुमध्ये पनि ८ जनाले सांसद बन्ने अवसर नपाउने लगभग पक्का जस्तै छ ।
जबकी देउवा स्वयंमले आफूहरुले अघि सारेका ४४ जनाको नाममा सहमति जनाएको नेताहरुको दाबी छ । तर सूची फाइनल गरेर बुझाउनु अघि संसदीय बोर्ड र त्यसमा भएका सदस्यहरुलाई समेत जानकारी दिइएन ।
नुवाकोटका पूर्व जिल्ला सभापति समेत रहेका केसी भन्छन्, ‘समानुपातिकमा एकैलाटी ढंगले आफू निकट नामलाई प्राथमिकता क्रममा राख्ने काम भएको छ । पार्टीमा न्याय र समान अवसर प्राप्त गर्ने अवस्था रहेन ।’
बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै यो समूहका नेताहरुले शनिबार खबरदारी सभा गरेको थियो भने उपसभापति धनराज गुरुङले देउवालाई भेटेर सच्याउन भनेका थिए । तर बन्दसूची संशोधनको संकेत नदेखेपछि धर्ना दिने
निर्णयमा पुगेको छ । ‘यो शेखर समूहको मात्र कुरा होइन । पार्टीमा सबैले न्याय र अवसर पाउनुपर्छ’, शेखर समूहको बैठकमा सक्रिय नेता केसी भन्छन्, ‘केहीले टिकट पाउँछ भने नपाउनेले यसकारण उसले
पायो भनेर चित्त बुझाउने अवस्था बनोस् भनेर आवाज उठाएका हौं । तर नेतृत्वले यसमा कुनै प्रतिक्रिया नदिएपछि यो निर्णयमा पुगेका हौं ।’सभापति देउवाले गठबन्धनको बलमा अर्को पक्षलाई पेलेर अघि बढ्न खोजेको
शेखर समूहको निष्कर्ष छ । शेखर समूहको बैठकहरुमा सहभागी एक नेता भन्छन्, ‘समानुपातिकको बन्दसूची त टेलर मात्र हो । प्रत्यक्षको टिकट वितरण यो भन्दा एकपक्षीय बनाउने गृहकार्य भइरहेको सूचना हामीसँग छ ।’अनलाइन बाट

प्रतिकृया दिनुहोस्