
उदयपुर । उदयपुरमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सडकमा गुडीरहेको तीन पांग्रे अटो अनियन्त्रित भई पल्टीदा एकै परिवारको पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार त्रियुगा नगरपालिका वडा नम्बर ६ चुरिया जंगल क्षेत्रमा अटो दुर्घटनामा परेको थियो । चुरीयामाई मन्दिरमा पूजाआजा गर्न गएको र घर फर्कने क्रममा अटो दुर्घटनामा परेको उदयपुर प्रहरीले जनाएको छ ।
प्र २-०१-००१ ह ०११२ नम्बरको अटो ब्रेक फेल भई अनियन्त्रित भएको थियो । घटनाको प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको सो अटो सडकदेखि करिब २० मिटर तल झरेको थियो ।
घाईते पाँचमध्ये २२ वर्षीया रुपा सहनीको अवस्था गम्भीर छ । उनको टाउकोमा गहिरो चोट देखिएको छ । अर्का घाइते ४५ वर्षीय हेमा सहनीको भने देव्रे हात भाँचीएको छ । अटोका चालक चित्रेश्वर सहनीलाई समेत घाइते अवस्थामा उद्दार गरिएको थियो ।
घाइतेहरुलाई घटनास्थलबाट तत्काल उद्दार गरी उपचारका लागि बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल लगिएको इलाका प्रहरी कार्यालय जलजलेले जानकारी दिएको छ । चुरेदेखि सदरमुकाम गाईघाट आउने सगरमाथा लोकमार्गअन्गर्ततको सो सडक जंगल क्षेत्रभित्र अत्यधिक घुम्ती भएकाले बेला बेला सवारी दुर्घटनाहरु हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्