


गाईघाट / स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्थाअनुसार त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको १५औँ नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन् ।
नगर उपप्रमुख महेश्वरी राईले सो नीति कार्यान्वयन गर्न बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ६४ करोड ४० लाख ५२ हजार ७८० र पूँजीगत खर्चतर्फ ८८ करोड ९४ लाख ६ हजार २२० रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
नगर प्रमुख बस्नेतका अनुसार आगामी वर्षका लागि कृषिलाई समृद्धिको आधार मानेर पहाडी वडालाई कफी जोनू घोषणा गर्ने र पशु बिमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको बताए । घोषणाअनुसार कृषि तथा पशुपालन विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने नगर प्रमुख बस्नेतले जानकारी दिए ।
नगरको नीति अनुसार सबै नगरवासीलाई निशुल्क आँखा परीक्षण र शल्यक्रिया, निशुल्क रगत आपूर्ति, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम लागू गरिनेछ । शिक्षालाई सुधार गर्न नगरले सामुदायिक विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन गराउने नीति लिएको छ । साथै, महिला मैत्री विद्यालय स्थापना, ‘बुक फ्री डे’ अभियान, र असहाय, दलित, विपन्न तथा अपाङ्ग विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी समावेशी शिक्षा प्रवर्द्धन गरिने पनि नगर प्रमुख बस्नेतले बताए ।



प्रतिकृया दिनुहोस्