गाईघाट / उदयपुरको रौतामाई परिसरमा “धार्मिक, साहसिक तथा सांस्कृतिक सम्पदाको पहिचान, पर्यटन विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो।
त्रियुगा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिकाका अधिकृत तथा सहजकर्ता बिस्वोजित राईले जानकारी दिँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले रौतामाई तथा त्रियुगा क्षेत्रमा पछिल्लो समय पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुँदै गएको बताए। उनले धार्मिक, साहसिक तथा सांस्कृतिक सम्पदाको पहिचान र संरक्षणसँगै त्यसको प्रचार–प्रसार गर्न सके पर्यटन क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।
बस्नेतले आफ्नो नेतृत्वमा गत चैत्र २९ गतेदेखि सञ्चालन गरिएको पाँच दिने रौतामाई–त्रियुगा पर्यटन महोत्सवले स्थानीय तथा बाह्य पर्यटकको आगमन बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्र चलायमान बनाउने मात्र नभई युवा पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न समेत सहयोग पुग्ने बताए।
उनका अनुसार त्रियुगा नगरपालिका अब केवल शहरी विकासमा मात्र नभई समग्र उदयपुरको पर्यटन सम्भावनालाई उजागर गर्ने दिशामा पनि सक्रिय रूपमा अघि बढिरहेको बताए ।
त्यस्तै, उपप्रमुख महेश्वरी राईले त्रियुगा नगरपालिका केवल आफ्नै क्षेत्र मात्र नभई उदयपुर जिल्लाको समग्र पर्यटन सम्भावनालाई उजागर गर्दै प्रचार–प्रसारमा सक्रिय रहेको बताएका छन्। उनले अन्य पालिकाको विकाससँगै त्रियुगा नगरपालिकाको पनि समग्र विकास सम्भव हुने धारणा राखेको थियो।
कार्यक्रममा बिस्वोजित राई, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, पत्रकार भोटराज राई तथा आइटी नारायण क्षेत्रीले सहजीकरण गरेका थिए उहाहरुले रौतामाई संगै उदयपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन अजन्ता पौडेलले गरेका थिए ।



प्रतिकृया दिनुहोस्