
उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई अग्रभागमा थिए ।
सोही क्रममा आगो सल्काएर गोलो पोल्दै गर्दा उम्कीएको अरिङ्गालले शरिरभरी टोकेको प्रत्यक्षदर्शी अन्य स्थानीयले बताएका छन् ।
स्थानीय दीपेन्द्रकुमार राईका अनुसार मृतक दिवससहितका युवाहरु अरिङ्गाल काड्न घर नजिकैको जंगल पुगेका थिए । खानासँग ‘तिहुन्’को रुपमा खाइने अरिङगालको बच्चा काड्ने क्रममा अन्य चार जना पनि घाइते भएका थिए ।
उनीहरु समेत गम्भीर घाइते (बेहोस्) अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । घटनाबारे थाहा पाएलगतै पाँच जनालाई उपचारका लागि लगीएको थियो ।
बाँकी चार जनाको भने स्थानीय स्वस्थ्यसंस्थामा उपचारपछि घरेलु उपचार भइरहेको अर्का स्थानीय धनबहादुर राईको भनाई छ । तथ्यांक अनुसार नेपालमा कालो अरिङ्गालको टोकाईबाट वर्षेनी निकै जनाले ज्यान गुमाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्