उदयपुर । मंसिर ४ गते संघीय र प्रदेशतहको निर्वाचन घोषणा भएदेखि नै राजनीतिक हलचल गतिशिल बनेको छ । चुनावी कसरत अहिले केन्द्रका नेतादेखि स्थानीय ग्रामिण कार्यकर्ता पंक्तिमा समेत देखिएको छ । बिभिन्न पार्टीमा उम्मेदवारको टिकटका लागि लविङ थाल्ने आकांक्षीहरु देखिन थालेका छन् ।
उदयपुरमा पनि जीवनकुमार कार्की ‘कुशल’ले प्रदेश सांसदको टिकटका लागि चासो देखाएका छन् । तत्कालिन बिद्रोही नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको क्रममा पूर्वलडाकु समेत रहेका कार्की पछिल्लो समय नेकपा एमाले प्रवेश गरेका थिए । उनै कार्की प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका हुन् ।
स्रोतका अनुसार उनी माओवादीबाट नेकपा बिभाजनको क्रममा एमालेतिर लागेका नेता ‘बादल’ निकट मानिन्छन् । कार्कीले आफूनिकट नेताहरुसँग उम्मेदवारीको विषयमा छलफललाई तीब्रता दिएका छन् । मंगलबार गाईघाटमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले आफू उदयपुरको क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका बताएका छन् ।
तर, सोही निर्वाचन क्षेत्रमा उनकै पार्टी नेकपा एमालेका दुई नेताले समेत उम्मेदवारीको लागि दावी गर्दै आएका छन् । दावी गर्नेमा प्रदेश कमिटी सदस्य देबराज राई र जिल्ला कमिटी सदस्य गजेन्द्रबहादुर खड्काको चर्चा हुने गरेको छ ।
प्रदेश सांसक आकांक्षी राई जिल्लाको लिम्चुङबुङ ४ स्थायी घर भए पनि हाल काठमाडौं बस्दै आएका छन् । यता, रौतामाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका खड्का रौतामाई ७ निवासी हुन् ।
कार्की तत्कालिन नेकपा विघटनपछि बादलसँगै एमालेतिर लागेका थिए । कार्की हाल नेकपा एमाले प्रदेश १ कमिटी सदस्यको जिम्मेवारीमा छन् । रौतामाई गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका कार्की अन्य आकांक्षीभन्दा आन्तरिक रुपमा बलियो रुपमा मानिदै आएको एमाले निकट नेताहरु बताउछन् ।
यता गठबन्धनको तर्फबाट नारायणबहादुर बुर्जा र खेसबहादुर मगरको नाम पनि आकांक्षीको रुपमा आएको छ । बुर्जा माओवादी केन्द्रका हुन् भने मगर कांग्रेसको तर्फबाट हुन् । सो निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा भर्याङ चुनाब चिन्हबाट स्वतन्त्र उम्मेदवार नारायणबहादुर बुर्जाले सबैभन्दा बढी जनमत बटुलेका थिए ।
प्रतिकृया दिनुहोस्