उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार थाप्दै आएका व्यापारीहरुलाई नवनिर्मित फलफूल बजारमा स्थानान्तरण गरिने भएको छ । ‘सडकमा जथाभाबी फुटपाथ व्यापारले सडक दुर्घटना बढायो’ अध्यक्ष रसाईलीले भने, ‘पैदल यात्रुहरुका लागि बनाइएको पेटीमा समेत फुटपाथ व्यापारीले ओगटेपछि सर्वसाधरणलाई समस्याबाट मुक्त गर्न नयाँ फलफूल बजारको आवश्यकता पर्यो ।’
पछिल्लो समय बजार हुँदै जाने पूर्व-पश्चिम मदन भण्डारी लोकमार्ग निर्माणपछि पेटीमा व्यापार गर्नेहरुको संख्या बढेको छ । मुख्य सडक व्यस्त हुने भएपछि पैदललाई हिड्न बनाएको पेटी समेत ठप्प हुने गरी केही केहीले साना व्यापार गर्दै आएका छन् ।
गाईघाटको पूरानो तरकारी, श्रमिकपार्क मुख्य प्रवेशद्धारा क्षेत्र, हिमाली टोल, रियाज पेट्रोलपम्प क्षेत्र, बैंक लाईन तथा बिपी चोक र पिपल चोक क्षेत्रमा अत्यधिक चटपटे, फलफूल, सव्जी, बिक्री गर्ने गरिएको छ । त्यस्तै महंगो मूल्यमा सटर भाडामा लिएर व्यापार गर्नेहरुको अगाडि सडकमा फुटपाथ व्यापारले ठाउँ ओगट्ने गरेको भन्दै स्थानीय व्यापारीले गुनासो गर्दै आएका थिए ।
फुटपाथका व्यापारीलाई त्रियुगा फलफूल बजार
वाणिज्य संघका अध्यक्ष रसाईलीका अनुसार तत्कालका लागि गाईघाट बजारभर रहेका सडक पेटी (फुटपाथ) व्यापारीहरुलाई नगर प्रहरी कार्यालय नजिकै रहेको व्यक्तिको खाली जग्गामा नवनिर्मित फलफूल बजारमा एकीकृत गरिनेछ । जससलाई त्रियुगा फलफूल बजार नामाङ्करण समेत गरिएको छ । विद्युत लाईनदेखि पूर्व भित्री सडक छिरेपछि सीधा नयाँ फलफूल बजार पुग्न सकिन्छ ।
जहाँ भदौ १६ गतेदेखि ६ महिनासम्म व्यापारीहरुसँग कुनै शुल्क समेत लिइने छैन । त्यसपछि भने न्यूनतम शुल्क व्यापारीहरुबाट असुल गरिने बताइएको छ । ८ कोठे ठहरामा एक ठाउँ जम्मा गरिने व्यापारीहरुलाई गोलाप्रथा टिपाई आफू बस्ने ठाउँ निर्धारण गर्ने तयारी भइरहेको रसाईलीको भनाई छ ।
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघले संयुक्त रुपमा थालेको व्यवस्थापनपछि फुटपाथ व्यापार पनि स्थायी रुपमा सहज हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्