

धोकेवाज’ गीतले गायिका एलिना चौहानलाई रातारात हिट बनाइदियो । उनी अहिले ‘धोकेवाज गायिका’ को नामले नै चर्चित हुन थालेकी छन् भने मेला–महोत्सवदेखि विदेशका कार्यक्रममा उनको डिमान्ड ह्वात्तै बढेको छ ।
यता, धोकेवाजको ‘मेल भर्सन’ गाउने शिव परियार भने खासै चर्चामा आउन सकेनन् । धेरै स्रोता–दर्शकलाई यो गीत शिवले पनि गाएका छन् भन्नेसमेत थाहा छैन ।
अहिले उनी आफैंले यो गीतको गायक म पनि हुँ भन्दै हिँड्नुपर्ने अवस्था छ ।
हरेक स्टेजहरुमा उनी अहिले धोकेवाज गीतलाई प्राथमिकतामा राख्छन् । साथै, प्रत्येक इन्टरभ्यूहरुमा पनि यो गीत आफ्नो स्वरमा सुनाउने गर्छन् ।
हालै एउटा टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले धोकेवाजले आफूलाई फेरी चर्चामा ल्याइदिएको दाबी गरे । अहिलेको टिनएजर्स माझ यो गीतले आफूलाई चिनाएको उनले बताए ।
धोकेवाद गीत एक वर्षअगाडि नै आएको हो । सुवास कार्कीको रचना र संगीत रहेको गीतमा एलिना चौहानले स्वर दिएकी थिइन् । २०७८ को वैशाखमा यूट्यूवमा अपलोड भएको गीत सुपरहिट भयो ।
भिडियोमा एलिना स्वयंले अभिनय गरेकी छिन् भने उनलाई बादलसिंह ठकुरीले साथ दिएका छन् ।
गीतले छिट्टै लोकप्रियता पाएपछि तीन महिनापछि मेल भर्सनमा रेकर्ड गरिएको हो, जसलाई शिव परियारले स्वर दिएका छन् । गीतको शब्द र संगीत उही छ ।
गीतले राम्रै भ्यूज बटुले पनि फिमेल भर्सनभन्दा धेरै पछाडि छ ।
पछिल्लो समय एकाएक धोकेवाज गीत भाइरल भयो । एउटा महोत्सवमा एलिना चौहानले गाउँदा सानो बालकले यसको लिरिक्समा मिलाएर लिपसिङ गरेका थिए ।
सो भिडियोमा एलिनाले डुयट गरेकी थिइन् । त्यसलगत्तै अर्को महोत्सवमा एलिनाले यो गीत गाउँदा एक युवतीले देखाएको एक्सप्रेसन भाइरल भयो ।
त्यसपछि त एकपछि अर्को महोत्सवमा धोकेवाज गीतमा युवतीहरु लठ्ठीन थाले । एक प्रकारको होड नै चल्यो र चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्