


गाईघाट / राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै उदयपुर पुगेका छन् । आफ्नै जीवनीमा आधारित ‘महावीर पुनको आत्माकथा ’ नामक किताब बेच्न उनी उदयपुरको गाईघाट पुगेका हुन्। ३० वर्षदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना स्थापना भएको र संचालन गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन् ।
बैतडीबाट उदयपुरसम्म आइपुग्दा १ लाख ५५ हजार बढी किताब बिक्री भइसकेको पुनले बताए । उनले प्रति किताब बिधार्थीहरुलाई ७ सय रुपैयाँ र सर्वसाधारणलाई ७ सय ५० रुपैयामा बिक्री गरिरहेका छन् ।
आज गाईघाट बजारको गाई चोकमा आफैले माइकिङ्ग गरेर सबैलाई किताब किन्न पुनले आग्रह गरिरहेका थिए । साथै पुनले मेरो किताब नेपालको तीन लाख नागरिक जतिले किनेमा मात्रै करिब १६ करोड जति संकलन हुनेछ, आफुले किताब बेचेर प्राप्त भएको रकम कृषि औजार कारखानाको लागि औजार किन्न प्रयोग गर्ने पनि बताए । साथै उदयपुर जिल्ला पछि सप्तरी जिल्ला जाने तयारी रहेको बताए ।
नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तिमा ६/७ प्रतिशत मात्रै आयात रोक्न सकेपनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुनसक्ने उनले औंल्याए।एउटा सचेत नागरिकले राज्यलाई मात्रै दोष दिएर नहुने भन्दै परिस्थिति अनुरूप हरेक नागरिकले राज्य बनाउन योगदान गर्न जरूरी रहेको उनले बताए ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले सहयोग स्वरुप २० वटा किताब किन्ने बताएका छन् । वीरगञ्जस्थित कृषि औजार कारखानाको लागि महाबिर पुनले लिएको कदम देखेर बस्नेत खुसि भए । बस्नेतले नेपालका सम्पूर्ण स्थानीय सरकर र नागरिकले पुनलाई सहयोग गर्नु पर्ने बताए ।



प्रतिकृया दिनुहोस्