
उदयपुर । आगामी छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नदी किनारमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी र छठ पूजा समितिको सक्रिय सहभागितामा सरसफाइ, बाँसको मञ्च निर्माण, बत्ती जडान र सजावटका कामहरू जारी छन्।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए, “छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक हो। नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरी भक्तजनहरूले सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजा गर्न सकून् भन्ने उद्देश्यले तयारी गरिएको हो।”
त्यस्तै, छठ पूजा समितिका अध्यक्ष चन्दन गुप्ताले भने, “यो वर्ष छठलाई अझ भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको छ। त्रियुगा नगरपालिकाको सहयोगले यसपटक भक्तजनलाई पर्याप्त सुविधा उपलब्ध हुनेछ। सबैलाई स्वच्छता र अनुशासनमा रही पर्व मनाउन आग्रह गर्दछौं।”छठ पर्व सूर्य भगवान् र छठी माईको आराधनामा मनाइने हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो।
चार दिनसम्म चल्ने यस पर्वमा भक्तजनले उपवास, नदी स्नान र सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन्।त्रियुगा नगरपालिकाले यस वर्ष पनि छठ पर्वलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्