

गाईघाट / उदयपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रौतामाई पोखरी परिसरमा “त्रियुगा–रौतामाई पर्यटन महोत्सव” आयोजना हुने भएको छ। आगामी चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म पाँच दिनसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरिएको हो। आज त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यमा बैठक बसी महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख बस्नेतका अनुसार कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ। पर्यटन वर्षको सुरुवात तीनजुरे क्षेत्रबाट गरिएको थियो भने यसको समापन उदयपुरको धार्मिक स्थल रौतामाई पोखरीबाट गर्ने उनले जानकारी दिए। बस्नेतका अनुसार उक्त पर्यटन महोत्सवले छिमेकी जिल्लाका पर्यटकहरूलाई आकर्षित गर्न तथा उदयपुरको धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

महोत्सव आयोजनाका लागि त्रियुगा नगरपालिकाले ७ लाख रुपैयाँ र रौतामाई गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। दुवै स्थानीय तहको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिने रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र कुमार मगरले जानकारी दिए।
अध्यक्ष मगरका अनुसार विगतका वर्षहरूमा नयाँ वर्षको दिन मात्रै लाग्ने मेला यस पटक फरक शैलीमा विस्तार गर्दै पाँच दिनसम्म पर्यटन महोत्सवका रूपमा आयोजना गर्न लागिएको हो।
यस महोत्सवले त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले दिनेश श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको पनि जानकारी दिए।


प्रतिकृया दिनुहोस्