

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। उक्त भवनको आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा शिलान्यास गरिएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले “शिक्षा विकास बिना समृद्ध समाजको परिकल्पना गर्न सकिँदैन” भन्दै विद्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको स्पष्ट पारे। आगामी दिनमा समेत शिक्षालाई उच्च प्राथमिकतामा राखेर थप योजना अघि बढाइने उनले जानकारी दिए।

बस्नेतले त्रियुगा नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाइएको उल्लेख गर्दै जनताको जीवनस्तर उकास्ने काममा नगरपालिका केन्द्रित रहेको बताए।
त्यसैगरी वडा अध्यक्ष केदार थापाले आफ्नो वडामा ठूला विकास आयोजनाहरू सञ्चालन भइरहेको जानकारी दिए। उनले विद्यालय भवनसँगै करिब २६ करोड लागतमा नगर अस्पतालको ठेक्का लागि सकेको र सम्झौता प्रक्रियामा रहेको उल्लेख गर्दै वडामा विकासले गति लिएको बताए ।विकास निर्माणका कामले तीव्रता पाएको भन्दै उनले स्थानीयवासी र आफू समेत खुशी भएको प्रतिक्रिया दिएका छन्।

प्रतिकृया दिनुहोस्