

गाईघाट / उदयपुरको धार्मिक तथा पर्यटकीय स्थल रौतामाईमा आयोजित प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव सम्पन्न भएको छ। गत चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन भएको पाँच दिने धार्मिक तथा पर्यटन महोत्सव सम्पन्न भएको हो ।
त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र कोशी प्रदेश सरकारको सहकार्यमा आयोजना गरिएको उक्त महोत्सवमा करिब ६० हजारभन्दा बढी भक्तजन, पर्यटक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए। आयोजकका अनुसार महोत्सव अवधिभर रौतामाई क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको थियो। विशेषगरी धार्मिक पूजाआजा, सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृतिको प्रदर्शन तथा विविध मनोरञ्जनात्मक गतिविधिहरूले दर्शकलाई आकर्षित गरेका थिए।
महोत्सवले रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै होटल, पसल, यातायात लगायतका स्थानीय व्यवसायमा उल्लेख्य चहलपहल ल्याएको आयोजकले जनाएको छ ।

त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले महोत्सवले रौतामाई क्षेत्रको पहिचान अझै सशक्त बनाएको उल्लेख गर्दै रौतमाईको प्राकृतिक तथा धार्मिक सौन्दर्यमा थप निखार आएको बताए। उनले रौतामाईको समुचित विकासबिना त्रियुगा नगरपालिकाको समग्र विकास सम्भव नरहेको धारणा राख्दै आफ्नो कार्यकालभित्र रौतामाईसम्म पुग्ने सडक कालोपत्रे गर्ने प्रतिबद्धता दोहोर्याए। उनले पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट तथा योजना सुनिश्चित गर्ने पनि बताए।

समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री प्रदीप सुनुवारले रानीवासदेखि रौतामाईसम्मको सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक रूपमा अत्यन्तै धनी प्रदेश भएको उल्लेख गर्दै नेपालकै सबैभन्दा होचो स्थान केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म समेटिएको बताए। यस्तो विविधता भएको प्रदेशमा रौतामाईजस्तो धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकासमा प्रदेश सरकारले उच्च प्राथमिकता दिने र कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे।

महोत्सव सफल बनाउन त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, कोशी प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाहरूको महत्वपूर्ण योगदान रहेको भन्दै आयोजकले सबैप्रति आभार व्यक्त गरेको थिए । महोत्सवले आगामी दिनमा रौतामाईलाई प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप आधार तयार गरेको विश्वास गरिएको छ।


प्रतिकृया दिनुहोस्